नमस्कार समस्त पुर्व विद्यार्थी साथीहरू तथा शुभेच्छुक महानुभावहरू !!!
गोरखा जिल्लाको साविक पाँचखुवा देउराली गोरखा, हाल बारपाक सुलिकोट गाउँपालिका-७ मा रहेको शैलपुत्री माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको साझा संस्थाको रुपमा शैलपुत्री भूतपुर्व विद्यार्थी समाजको स्थापना भएको हो । अंग्रेजीमा यसलाई Shailaputri Alumni Association र छोटकरिमा SPAA भनिएको हो । वि सं २०१७ मा शैलपुत्री माध्यमिक विद्यालय(तत्कालिन समयमा प्राथमिक विद्यालय) को रुपमा विद्यालय स्थापना भएपश्चात् हालको अवस्थासम्म आइपुग्दा धेरै व्यक्तिहरुले उक्त विद्यालयबाट आफ्नो पूर्ण वा आंशिक अध्ययन सम्पन्न गरेका छन् ।तिनै पूर्व विद्यार्थीहरुलाई एउटै छातामा जोडि समस्त पूर्व विद्यार्थी, विद्यालय तथा समग्र पक्षको हितमा राखि यो संस्थाको परिकल्पना गरिएको हो ।यस संस्थाको विधिवत् स्थापना वि सं २०७१ सालमा काठमाडौँ भेला मार्फत भएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय गोरखामा दर्ता नं १३५३ मा दर्ता भइ समाज कल्याण परिषद् मा समेत आवद्ध भएको छ । विशुद्ध समाजिक भावनाले गठित यो संस्था , संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता प्रमाणपत्र प्राप्त भएको हो ।शैलपुत्री मावि मा जुनकुनै समयमा अध्ययन गरि विद्यालय छाडेका सबैले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्ने विधानत व्यवस्था छ । साधारण सदस्य,आजिवन सदस्य तथा मानार्थ सदस्यको व्यवस्था बिधानले गरेको छ । १५ सदस्यीय कार्यसमिति रहने गरेकोमा हाल विधान संशोधन गरि ९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको छ ।स्पाको सदस्यता अभियान अन्तर्गत हाल आजिवन सदस्यता वितरणलाई विशेष जोड दिइएको छ । अनलाइन मार्फत पनि सदस्यता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।